Publications
Comments
"Mother and Motherland are Dearer than Heaven"

चितवनलाई पर्यटन केन्द्रका रुपमा बिकाश गरौँ

कृष्ण अनुरागी

प्रचुर पर्यटकीय संभावना बोकेको चितवनका रमणिय बन जंगल, खोलानाला, ताल तलैया एवं मठ मंदिरहरुको जगेर्ना, प्रवर्धन र प्रचार प्रसार गर्न सक्ने हो भने हामी समग्र चितवनलाई नै पर्यटन केन्द्रका रुपमा बिकास गर्न सक्छौ । लोपोन्मुख जंगली जनावर, विभीन्न प्रजातीका चराचुरुंगी र अन्य स साना जिवजन्तुहरुको एउटै क्रिडास्थलका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको पहिलो रोजाई बन्न सक्छ । प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले सुसज्जीत हाम्रो यो परिबेश शंसारका कुनै पनि पर्यटकिय स्थलहरु भन्दा कम सुन्दर छैन तर प्रचार प्रसार र पुर्वाधार बिकासमा यथेष्ट ध्यान नदिदा यो छायॉमा परिरहेको छ ।

पर्यटन आकर्षणको रुपमा बिकास भैरहेको पुर्वी चितवनको सौराहदेखी गोही प्रजनन् केन्द्रका रुपमा रहेको पश्चिम चितवनको कसरा सम्मको निकुञ्ज क्षेत्र र यस आसपासका सामुदायीक वनहरुलाई हामी पर्यटन क्षेत्रका रुपमा बिकास गरी त्यस क्षेत्रका गाउँहरुलाई पर्यटन सिटीका रुपमा अगि बढाउन सक्छौ जसले समग्र चितवनको बिकास र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउन सक्छ। चितवन राष्ट्रिय निकुंज को काखमै पुर्व देखी पश्चिम तर्फ कल्कलाउदै बग्ने रापती नदी, नदी किनारका फराकिला बगरहरु, हात्ती तथा गोही प्रजनन् केन्द्र , सुन्दर एवं रमणिय ताल, विविध धार्मीक स्थल सँगै सबै खाले जंगली जनाबरहरुका बिच चराचुरुंगीहरुको संगीतमय बाताबरणमा हुने डुंगा सयर ,हात्ती सयर, फिसींङ, जंगल सफारी र भ्यु टावर पर्यटन आकर्षणका आधारहरु हुन् । यी सब कुराहरुलाई ब्यबस्थित गर्दै यसलाई पर्यटन प्याकेजकै रुपमा अगि बढाउने हो र पर्यटन बसाइका हिसाबले सुबिधा संपन्न पुर्वाधार निर्माण गर्न सक्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौ | त्यसका साथसाथै एउटा अन्तराष्ट्रिय बिमानस्थल बनाउन सक्ने हो भने चितबनलाई देशकै पर्यटन केन्द्रको रुपमा बिकास गर्न असंभब देखिदैन खाँचो छ त केवल तपाइको, मेरो अनि हामी सबैको एक दरिलो प्रयासको |
सौराहादेखी पश्चिममा रहेका बिस हजार तालको मौलीकता, दक्षिणकाली सामुदायीक बन क्षेत्रको रमणियता, बाटुलीपोखरी सामुदायीक बन भित्र रहेको बाटुलीपोखरी तालको सुन्दरता , धार्मीक पर्यटकिय स्थल क्षितामाइ अनि बिक्रम बाबाको ऐतिहासिकता, राप्तीको पश्चिम किनार घट्गाइको शालीनता संगै मेघौलीस्थित राप्ति र नारायणीको मित्रता वास्तबमै चितवन पर्यटन बिकाशका आधार क्षेत्र हुन् । जसको संरक्षण र प्रवर्धनबिना हामी चितवनको वास्तविक सौन्दर्यता ऑकलन गर्न सक्दैनौ । त्यसो त पुर्वमा रहेको सौराहा, उत्तरमा रहेको ऐतिहॉसीक क्षेत्र उपरदाङ गढी, सुर्योदय पहाड भनेर चिनिने सिराइचुली, चेपांग बस्तीहरु रहेको सिध्दी, कोराक, काउले जस्ता ट्रेकिंगको संभावना बोकेका पहाडहरु पर्यटकिय हिसाबले उत्ती नै महत्वपुर्ण छन् । यता राप्ती र नारायणीको संगम स्थल मेघौलीको गोलाघाट, गोही प्रजनन् केन्द्रको रुपमा रहेको कसरा र यहॉका ठुला ठुला जंगल रिसोर्टहरु पहिले देखी नै पर्यटकका रोजाइ नबनेका हैनन् । धार्मीक तिर्थ स्थल देबघाट धाम र नारायणी नदिको बिशालतालाई पनि नजरअंदाज गर्न सक्दैनौ हामी चितवन पर्यटन बिकासका दृष्टिकोणले । फेरीपनि हामीले भन्नैपर्छ भौगोलीक सुगमता, पुर्वाधार संभाब्यता र प्राकृतिक सुन्दरताका हिसाबले पनि चितवन राष्ट्रिय निकुञ्ज को मध्यबर्ती क्षेत्र,बरण्डाभार अन्तर्गतका सामुदायीक बनहरु र यहॉका गाउँ बस्तीहरुनै पर्यटन बिकासका प्रमुख आधारहरु हुन् । त्यसका लागी मेघौलीमा रहेको क्षेत्रिय बिमानस्थलाई अन्तराष्ट्रिय बिमानस्थल , जिल्ला भित्र रहेका विविध संस्कृति र रहनसहन भएका जनजाती समुदायको बस्तीहरुलाई सुबिधा सम्पन्न होमस्टेका रुपमा बिकास गर्न सक्छौ | त्यसैगरी अन्तराष्ट्रियस्तरका ठुला ठुला होटल, रिसोर्ट र क्लबहरुको अबधारणालाई अगि बढाउने हो भने बिकसित देशहरुका पर्यटकहरु भित्र्याउन पनि सक्षम हुन्छौ हामी |
पुर्वको सौराहा देखी पश्चिम घट्गाइ जोड्ने रापती नदिको किनारलाई हामी पर्यटक हाइवेका रुपमा बिकास गर्न सक्छौ र ठाउँ ठॉउमा बिश्रामस्थल सहितको भिउ टावर बनाउन सक्छौ । पर्यटक बोक्ने प्रदुषणमुक्त साना सवारी साधनलाई सिसी क्यामेराको प्रतक्षय निगरानीमा संचालन गर्न दिंदा त्यसले राष्ट्रिय निकुञ्जभित्रको पर्याबरणमा पनि खासै असर गर्दैन । बरु यसले चितवनका पुर्व देखी पश्चिम सम्मका सबै पर्यटकिय स्थलहरुलाई जोड्ने पुलको काम गर्दछ । यसो हुँदा सबै पर्यटकिय स्थलका बिशेषतालाई समेटेर हामी आकर्षक प्याकेज सहित पर्यटकहरुलाई आकर्षीत गर्न सक्छौ । हामी यो प्याकेज लाई सौराहाबाट सुरु गरी घट्गाईमा लगी टुंग्याउन पनि सकिन्छ भने घट्गाईबाट शुरु गरी सौराहामा लगेर टुंग्याउन पनि सकिन्छ । घट्गाईबाट सुरु गर्दा पश्चिमका अरु क्षेत्रहरुलाई समेट्न सकिन्छ भने सौराहाबाट सुरु गर्दा पुर्बका अन्य क्षेत्रलाई पनि जोड्न सकिन्छा | जताबाट शुरु गरेपनि केन्द्र भागमा रहेको बेल शहरको फराकिलो भुभागमा भ्यु टावर मार्फत दृश्याबलोकन गराउदै नजिकै रहेको बाटुलीपोखरी तालको रमणियतामा समाहित गराउन सकिन्छ पर्यटकहरुलाई । पर्यटक हाइवेको लगभग केन्द्र भागमा रहेको यो शान्त अनि मनोरम बाटुलीपोखरी तालमा डुंगा सयर र जंगली जनावरहरुको मनोरमता सँगै चराचुरुंगीहरुको संगीतमय बाताबरणमा रम्नेछन् पर्यटकहरु । सॉझ बिहानमा देखिने दुर्लभ बन्यजन्तुहरुको सामुहिकता ,उनिहरुले गर्ने जल कृडा एवं यौन कृडा र मयुर, डॉफेको नाच बाटुलीपोखरीका बिशेषता हुन् । यस अर्थमा पनि बाटुलीपोखरीको महत्व बिशेष रहन्छ यो प्याकेजको सान्दर्भिकतका लागी । बाटुलीपोखरीलाई थोरै भौतीक पुर्वाधारहरुले श्रृंगार्ने हो भने अज उसको सुन्दरतामा निखार ल्याउन सकिन्छ जसले देश बिदेशका पर्यटकहरुलाई सजिलै लोभ्याउनेछ ।
बाटुलीपोखरी भन्दा माथी पट्टी रहेको बिस हजारी ताल र यहि बिचमा रहेका अन्य स-साना किंगफिसर ताल, निउरे ताल, रातमाटे ताल, बेदघारी ताल,मयुर ताल र दक्षिणकाली ताल हरुको पनि उचित संरक्षण र संबर्द्धन गर्ने हो भने यो प्याकेजको दायरा अज फराकिलो हुनसक्छ । यस क्षेत्र भित्र गर्न सकिने हात्ती सफारी, डुंगा सयर संगसंगै बस्ति किनारमा हुन सक्ने क्याम्प फायर पर्यटकका लागि अर्को आकर्षण हुन सक्छ | त्यसैगरी दक्षिणकाली सामुदायीक बन क्षेत्रमा रहेको परम्परागत धान पुजाका लागी प्रसिद्ध देवालय पर्यटकहरुको चासोको बिषय बन्न सक्छ जसले हाम्रो मौलीकता र संस्कृतिलाई बिश्वमाझ चिनाउन मद्धत पुर्याउछ । यिनै सामुदायीक बन सँगै रहेका बिभीन्न थारु, दराई ,गुरुंग र मगर बस्तीहरुलाई हामी होम स्टेका रुपमा बिकास गरी उनिहरुको आर्थीक बिकास सँगै कला र संस्कृतिको जगेर्ना गर्न सक्छौ । बाटुलीपोखरी भन्दा तलपट्टि रहेको क्षितामाई मन्दिर क्षेत्र र कसरामा रहेको बिक्रम बाबा क्षेत्रलाई धार्मीक पर्यटक स्थलका रुपमा बिकास गर्न सकिने प्रसस्त संभावना रहेको छ । यी सबै क्षेत्रहरु राष्ट्रिय निकुंजको नजिक र बरण्डाभार जंगलको छेउछाउमै रहेका छन् । दिनभरी काम गरेर बिहान बेलुकाको छाक टार्नुपक्ने बाध्यतामा रहेका बिपन्न बर्ग या समुदाय नै जंगल आसपासमा बस्ने गर्दछन् । त्यस क्षेत्रमा हुने पर्यटन विकासले तिनै मानिसहरुको सामाजीक चेतना र आर्थीक संबृद्धीको स्तर वृद्धि गर्दछ जसले गर्दा राष्ट्रिय निकुंज भित्र हुने चोरी शिकारी र अतिक्रमणलाई धेरै हदसम्म कम गराउछ । त्यहाँको पर्यटकिय बिकासको प्रतक्ष लाभ लिने बर्ग पनि तिनै हुन् । नेपालको अहिलेको राजनैतिक परिबर्तनको उदेश्य पनि तिनै बर्ग अनि समुदायलाई राज्यको मुलधारमा ल्याउनु हो । यस अर्थमा पनि त्यस क्षेत्रको पर्यटन बिकासका लागी हामी सबैले हातेमालो गर्न जरुरी छ ।
तर अब प्रश्न उठ्छ, यति धेरै पर्यटकिय संभावना बोकेका चितबनका यि पर्यटन स्थलहरुको पुर्वाधार बिकास र प्रचार प्रसारमा किन कसैले चासो र पहल गरेनन् होला त ? बिगतमा हाबी रहेको शहर केन्द्रित राजनिती, बन्द हड्ताल र हिंसात्मक आन्दोलनले थलिएको गाउँ समाज, पलायनबादी संस्कृति ,स्थानिय स्तरमा सचेतनामुलक कार्यक्रमको कमी, लामो समयदेखी रिक्त स्थानिय निकाय आदी यसका प्रमुख कारण थिए । यस बिचमा नारायणी र रापती नदीमा धेरै पानी बगिसक्यो । हामीले ठुला ठुला राजनैतीक एवं सामाजीक परिबर्तन गरिसक्यौ भलै त्यसको संस्थागत बिकाश अहिले प्रक्रियामा छ | अब हामी आर्थीक एवं सांस्कृतिक परिवर्तनको संघारमा छौ । आर्थीक परिबर्तनको हाम्रो प्रमुख आधार मध्ये पर्यटन बिकास पनि एक हो । यस अर्थमा पनि हामी चितवनवासीका लागी यो उपयुक्त समय हो यहॉको पर्यटन बिकासका गर्न । संघिय संरचना अन्तर्गत हाम्रो चितवन अहिले तिन नं प्रदेशमा पर्छ जुन समग्र नेपालको केन्द्र भागमा रहेको छ । स्रोत र साधनका हिसाबले पनि हाम्रो चितवन पर्यटन, कृषी र जडिबुटीका लागि धनि छ । समग्र तिन नंबर प्रदेशकै बिकासका दृष्टिकोणले पनि यहॉको पर्यटन बिकास अबको आबश्यकता हो । यहॉ रहेका हामी सबै धर्म,जात जाती, बर्ग, समुदायहरु बिचको सामुहिकता नै हाम्रो संबृद्धीको आधार हो र हामी चितवनबासीको पहिचान हो । अहिले संघियताका नाउँमा मच्चीरहेको जातीय कलहका लागी पनि हामी चितवनवासी उदाहरण बन्न सक्छौ । त्यसैले अब फेरी एकपटक हाम्रो चितवनको संबृद्धीका लागी पर्यटकिय संभावना बोकेका यी ठाउँहरुको संरक्षण र प्रबर्द्धनमा हातेमालो गरौ | चितवनलाई पर्यटन केन्द्रका रुपमा बिकास गर्न तपाइँ हाम्रो प्रयास नै प्रयाप्त छ | त्यसैले अब ढिला नगरी आआफ्नो ठाउँबाट सहयोग गरौँ |

प्रतिक्रियाका लागि
dhunganakris@gmail.com