हामी नेपाली लाइ माया गर्ने नेपाली भने

यात्राका क्रममा पुगियो डेनमार्कको राजधानी कोपनहेगन । यूरोपका बिभिन्न मुलुकमा रहेका नेपालप्रेमीसँगको अन्तर्वार्ताका क्रममा भेटिईन ब्रिजिट नियल्सन् । उमेरले साँढे तिनबिस भन्दा बढि टेकेकि । तर जोश, जाँघर र हाउभाउ भने ठिमठिमाउँदै हिँड्ने अल्लारे उमेरकि । वातचित गरौं भनेर प्रस्ताब राखिदिए एनआरएन डेनमार्कका अध्यक्ष मित्र सोम सापकोटाले । एक पटक पनि देख भेट त के बिजुली पत्रमार्फत समेत सम्पर्क नभै आइपुगिन् बिहानै ढोकामा यि नेपालप्रेमी ।
ढोका बाहिर कपास सरह सेताम्मे फूलेका कपाल देखेपछि मैले सोधें-ब्रिजिट हो तपाई ? आत्तिँदै सहि थापिन । “विषय मलाई केहि थाह छैन, थिएन। नेपाली लेखक पत्रकारले कुरा गर्ने भनेर खबर पाएकाले आएकी” नेपालप्रेम दर्शाइहालिन् । अन्तर्वार्ताको सान्दर्भिकता र उपयोगिताबारे कुरा राखें। उनले आफुले लेखेको पुस्तक देखाईन । मैलेपनि आफुले लेखेको पुस्तक देखाएर चिनापर्चि खुकुलो पारियो । झण्डै दुई घण्टा लामो वार्ताका प्रसंग त सबै यहाँ उल्लेख गरेर के संभव होला र ? उनले कोट्याएको एउटा प्रसंग भने चस्स मन् छुने खालको थियो-हामीले नेपालीलाई औधि माया गर्ने, नेपाली चाहिँ किन हामीबाट पर पर ?
नेपाल देखे भोगेका, जाने बुझेकाहरुले नेपाल र नेपालीलाई औधी श्रद्दा गर्छन् । माया गर्छन् । आँखामा सजाउँछन् । मनमा राख्छन् । नेपालीले नेपालमा हुँदा दिएको सत्कार र आत्मियतालाई मनबाट बाहिर हत्तपत्त गुल्टिन दिँदैनन् । एक पटक पुगेकालाई दिन रात छट्पटी बनाउँछ्-फेरी कहिले पुगौं भनेर । अनि ति दशौं पटक सम्म नेपाल पुग्छन् । स्वदेश फर्कियो फेरी त्यहि सझना र नेपाली आत्मियताले पोल्छ । तिनले नेपाल र नेपालीसितको संबन्धलाई ताजा बनाइरख्न जमघट गर्ने थलो बनाउँछन्, एसोसियसन खोल्छन् । डेनिसहरु त यूरोपककै सबैभन्दा दयालु नागरिक भनेर चिनिने । डेनिसहरुलेपनि त्यसै गरे- डेनमार्क नेपाल सोसाईटी खोलेर ।
नाम छ, डेनमार्क नेपाल सोसाईटी । संस्थामा नेपालीहरु रहुन्, बसुन् । नेपाल र नेपालीका अनुभव साटासाट गरुन वर्षमा एकाध पटक हुने भेला, जमघट र साँझको कार्यक्रममा भन्ने आसा नाजायज होइन । किनभने तिनले आयोजना गर्ने भेटघाटनै नेपाल र नेपालीसितको संझनालाई ताजा बनाउनु हो। मन र मष्तिस्कमा बोकेको नेपाल र नेपालीसितका क्षणहरुलाई सम्झेर फेरी रमाउनु हो ।
अनेक अनेक खालका अनुभव लिएर जम्मा हुन्छन् त्यहाँ ति । कोही नेपाली चराका आवाजको पछाडि वन चहारेर अनुभव सँगालेका हुन्छन् । ति वनका पात पातमा फलाना चराले कसरि गित गाउँछन् भन्दै चराका दिनचर्या सुनाउँछन् । कोही नेपालका हिमाल नाघेर आएका हुन्छन् । ति हिमालका गाथा कहन्छन् । शेर्पाका जिवन, वालवालिकाको दैनिकी । गाउँका ढाक्रेका कथा । घच्चडका लहर । देवी देउताका कहानी । मन्दिरका तोरण । सबैका आफ्नै अनुभव । आफ्नै भोगाई । फरक देखाई । कम्ति चाखलाग्दो हुन्न त्यो जमघट । यस्ता विविध मन, मस्तिस्क, चाख, चासो, चिन्ता र उत्सुकता बोकेका सयौं खाले क्षेत्रका डेनिसहरुको अनुभव सुन्न, तिनलाई आफ्नो देशका बारेमा थप बताउन कम्ति रोचक हुँदैन । यो तिनिसित निकट हुने अवसरपनि हो । हाम्रो देशको कला, संस्क्रिति, बैभव, प्रक्रिति, रहन सहन र हाम्रो चासोका सबै विषय तिनको मनमा अझ गढाइदिने अवसरपनि । डेनिस नागरिकका घर घरमा नेपाल र नेपाललाई प्रबर्धन गर्ने एउटा आँखि झ्याल ।
तर नेपालीलाई यस्ता कुरामा चासो छैन । ब्रिजिट नियल्सन्, यि आमै यो संस्थामा लागेको दुई बिस भन्दा बढि हुन लाग्यो । एक पटक यसको अध्यक्ष भएर चलाइसकिन् । अहिले उपाध्यक्ष र सचिव दुबै जिम्मेवारी यिनैको काँधमा छ । नेपाल र नेपालीका लागि भनेर यिनले के मात्रै गरिनन् ? उनीसित लामो फेहरिस्त छ। सुनाउँछिन्- नेपालबाट डेनमार्क घुम्न आइपुगेका सय जना नेपाली त मेरो घरमा मात्रै आए होलान् । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालदेखि पूर्व सभामुख दमननाथ ढुंगानासम्म पुगेका छन् ।” डेनमार्कमा बस्ने नेपालीका अनेक ब्यथा र पीडामा साथ दिईन् । भाषा नबोल्नेलाई भाषा । मेसो नपाएर रुमल्लिनेलाई साथ । नेपाल संबन्धि कार्यक्रमलाई डेनिस नागरिकका घर घरसम्मको पहुँच । तर नेपाली चाहिँ किन पर परै बस्ने हामी देखि ? उनको प्रश्न ।
नेपाल र नेपालीलाई माया गर्ने, दिलमा सजाउने त्यस्तै डेनिसहरु मिलेर खोलेको डेनिस नेपाल सोसाईटीले कम्तिमा वर्षमा एक पटक जमघट आयोजना गर्ने रहेछ । यसको शाखा समेत बिस्तार भएको रहेछ डेनमार्कको अर्को ठाउँसम्म । जमघट आयोजना गर्दा कम्तिमा डेढ दुई सय डेनिस नागरिक आउँछन् । हरेक जमघट नेपाल र नेपालीको नामसित जोडिएर आउँछ । तर नेपालीको उपस्थिति त्यहाँ सिलो खोज्दापनि सहजै नभेटिने । कति खल्लो ?
के डेनमार्कमा नेपाली नै नभएर हो त ? कोपनहेगनको ब्यस्त सडक हिँड्दापनि नेपाली अनुहारसित जम्काभेट हुन्छ । रेल स्टेसनको छेउछाउ पुगेपनि नेपालीको दर्शन पाइन्छ । नेपालीको अनुमान अनुसार करिब तिन हजार नेपाली पुग्न लागिसके । शनीबार वा आइतबार बिदाको दिन पारेर आयोजना गरिने यस्तो जमघटमा फूर्सद नभएर मात्रैपनि होइन । एक जना नेपाली मित्र सुनाउँदै थिए- वर्षमा एक पटक त्यहाँ नेपालीको मजा गर्ने जमघट हुन्छ । नेपालीलेनै आयोजना गर्छन् । त्यसमा रक्सी खाने र झल्लिन नेपालीहरु डेनमार्कबाट मात्रै होइन छिमेकी देशबाटपनि आइपुग्छन् । कहिलेकाहिँ त परिस्थिति लाजमर्दो बन्छ ।
नियल्सन सुनाउँछिन्-मुस्किलले चार पाँच जना पनि नेपाली हुँदैनन् हाम्रो जमघटमा । एक दुई वर्षपछि भएका पुरानापनि हराउँछन्, सदस्यतापनि लिँदैनन् । नेपालीलाई हामी प्रति चासोनै छैन । हामीले नेपालीलाई माया गर्छौं तर तिनले हामीलाई टाढै राख्छन् । नेपालीलाई हामीसित घुलमिल हुन मनै लाग्दैन । ति केहि सिक्नै चाहँदैनन् । हाम्रो संस्क्रिति, चालचलन, हाम्रो तरिका, दिनचर्याबारे जान्ने बुझ्ने र उत्सुक हुने नेपाली नगण्य छन् ।
हामी नेपाली तिनैको देश, समाज, कनुन र रितिथितिमा बस्छौं । दुई चार पैसो र ज्ञान जोड्छौं। गुजारा चलाउँछौं । यत्ति सुबिधा लिएर बस्दा संबन्धित देशका त्योपनि हामीलाई माया र ममता गर्नेले हामीसित घुलमिल भैदिउन् भन्ने आश राख्नु नाजायज होइन । जसले हामीलाईनै अझ बढि फाईदा पुर्‍याउँछ । यि हाम्रो देशमा खाली पैसो सोहोर्न र हाम्रो गतिलो शिक्षा लिन मात्रै आएक हुन्, हामीलाई यि श्रद्दा गर्दैनन्, रुचाउँदैनन्, हाम्रो समाज र संस्क्रिति यि घ्रिणा गर्छन्, हामीबाट सिक्न लायक केहि देख्दैनन् भन्ने पार्नु हाम्रै अहितमाहुन्छ ।
आफु बसेको देशको अवस्था, भाषा, संस्किति जान्ने बुझ्ने नगरेसम्म त्यहाँ सहज हुँदैन । वर्षौं बिताउँदापनि आफु बसेको ठाउँका ति दैनिक जिवनका आवश्यक आधारहरु थाह नपाउनु भनेको स्थानिय नागरिकका मन, मस्तिस्क, ब्यवहारबाट बाहिरिनु हो । प्राप्त सुबिधाबाट बञ्चित हुनुपनि । तरपनि हामी नेपालीमा त्यो चेत अहिले सम्म खुलेको छैन । नियल्सनको अनुभवमा नेपालीहरु बन्दको बन्दै भएर रहन चाहन्छन् । परिवर्तनलाई आत्मसाथ गर्ने परिपाटी नै छैन । हुन त यस्तो परिपाटी र मानसिकता डेनमार्कमा मात्रै छैन नै । अरु देशमापनि छ । अरु देशमा कहाँ कस्तो आगामी ब्लगमा लेखौंला है त ?
(यो लेख जनआस्था साप्ताहिकको बुधबार, २६ फागुन २०६६ को अंकमापनि पढ्न सकिन्छ)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*