कांग्रेस नवनिर्वाचित सभापति सुशील कोइरालालाई बधाई दिन अस्पतालमै

कांग्रेस नवनिर्वाचित सभापति सुशील कोइरालालाई बधाई दिनेको अस्पतालमै भिड लागेको छ। महाधिवेशनकै सिलसिलामा अस्वस्थ भई बुधबार अस्पताल भर्ना भएका कोइरालालाई भेट्न बुधबार विभिन्न दलका नेता, कार्यकर्ता र शुभेच्छुक त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए।

कोइरालालाई बुधबार प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल, राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, कांग्रेस नेता तथा कार्यकर्ताले अस्पताल पुगेर बधाई दिएका थिए।

प्रधानमन्त्री नेपालले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा कोइरालालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए। उनले कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। त्यस क्रममा कोइरालाले राजनीतिक विषयमा छलफल गर्न चाहे पनि प्रधानमन्त्री नेपालले पहिले पूर्ण स्वास्थ्यलाभ गर्न सुझाएका थिए। प्रधानमन्त्रीसँग उनका प्रमुख सल्लाहकार रघुजी पन्त पनि थिए।

यसैगरी, एमाले अध्यक्ष खनालले पनि कोइरालालाई बुधबारै अस्पताल गएर बधाई तथा शुभकामना दिए। कोइराला नेतृत्वको कांग्रेसले शान्तिप्रक्रियालाई निष्कर्ष दिन सजिलो हुने खनालले बताए।

‘कांग्रेसको नयाँ म्यान्डेटसहितको नेतृत्वले शान्तिप्रक्रिया अगाडि बढाउन सजिलो हुने विश्वास छ,’ कोइरालासँगको भेटपछि खनालले सञ्चारकर्मीसँग भने, ‘कार्यवहाक सभापतिमात्रै रहँदा निर्णय गर्नुअघि लामो छलफल र विचारविमर्श गर्नुपर्थ्यो, अब ताजा कार्यादेश पाएकाले काम छिटो होला।’

कांग्रेसले सुन्दर ढंगले लोकतान्त्रिक अभ्यास गरेको खनालले बताए। ‘कांग्रेस र एमालेले नेपालमा उन्नतस्तरको लोकतान्त्रिक अभ्यासको नमुना देखाएका छन्, यस हिसाबले पनि हाम्रो सम्बन्ध प्रगाढ हुन्छ,’ उनले भने।

खनालअघि कोइरालालाई बधाई दिन र शीघ्र स्वास्थ्य लाभको कामना गर्न राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, विश्वबन्धु थापा एवं कांग्रेसका वरिष्ठ नेताहरू अस्पताल पुगेका थिए। हातमा बुके लिएर बिरामी भेट्न गएका धेरै कार्यकर्ताले कोइरालालाई भेट्न पाएनन्। उनीहरू अस्पतालबाहिर राखिएको पुस्तिकामा स्वास्थ्य लाभको कामना गरेर फर्किएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*